रौतहट, ७ साउन । धान खेतमा सिँचाइका लागि विद्युतीय मोटर जोडने क्रममा करेन्ट लागेर रौतहटमा दुई किसानको मृत्यु भएको छ ।
कटहरीया नगरपालिका–२ जमुनियाका ४२ वर्षीय मोक्तार देवान र माधवनारायण नगरपालिका वडा नं. ४ विसुनपूर्वा मानपुरका ४० वर्षीय रामबाबु मुखियाको करेन्ट लागेर मृत्यु भएको छ ।
धान खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा गए राति मोक्तार देवानलाई करेन्ट लागेको थियो । उनलाई उपचारका लागि गरुडामा रहेको ग्रान्डी अस्पतालमा ल्याए पनि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले बताए ।
यसैगरी बुधवार बिहान ७ बजेको समयमा आफ्नो खेतमा सिँचाइ गर्ने क्रममा रामबाबु मुखियालाई करेन्ट लागेको थियो । उनको पनि उपचारका लागी प्रादेशिक अस्पताल गौर ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतक दुवै जनाको शव प्रादेशकि अस्पताल गौरमा रहेको र आवश्यक अनुसन्धान भइरहेको डीएसपी कार्कीले बताए ।














