काठमाडौं, ६ साउन । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ का रामरेसर रानाको हत्या उनकी श्रीमती माया चौधरीकै योजनामा भएको खुलासा भएको छ ।
भारतबाट फर्किएको १५ दिनपछि वैशाख १६ गते राति रामरेसरको हत्या माया, छिमेकी मानमती चौधरी र माया संग प्रेम सम्बन्ध रहेको भनिएका पुन्ना रानाले मिलेर गरेका हुन ।
बाँसको चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेपछि शव सडक छेउमा फालिएको थियो । हत्या भएपछि डेढ महिनासम्म अपराधी पत्ता लागेनन् तर मृतकका आफन्तले शंका जनाएपछि प्रहरीमा जाहेरी दिइयो ।
त्यसपछि पक्राउ परेका तीनैजनाले अपराध स्वीकार गरेका छन् । अदालतले पुन्ना रानालाई पुर्पक्षका लागि थुनामा राख्ने र माया र मानमतीलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटी बुझाउन नसक्दा तीनै जना हाल कारागारमा छन् ।














