काठमाडौं, ५ साउन । साउन महिनाको पहिलो सोमबारमा काठमाडौंको पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयहरूमा श्रद्धालुहरूको ठूलो भीड लागेको छ ।
हिन्दू धर्मावलम्बीहरूले साउन महिनाको प्रत्येक सोमबारलाई भगवान शिवको प्रिय दिन मानेर व्रत बस्ने, शिवलिङ्गमा जल, दूध, बेलपत्र, धतुरो, फूल र फल चढाई पूजाआराधना गर्ने गर्दछन्।

यस वर्ष साउन महिनामा कुल चारवटा सोमबार परेका छन् । साउनको सोमबारमा पूजा गर्दा अटल सौभाग्य, मनोकांक्षा पूर्ति, पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ।
श्रद्धालुहरूको सहजताका लागि पशुपतिनाथ मन्दिरका सबै ढोका आज बिहान ३ बजेदेखि खुला गरिएको छ । पशुपति क्षेत्र विकास कोषले आज दिनभर करिब ५ लाख भक्तजनले दर्शन गर्ने अनुमान गरेको छ ।
साथै, कोषले चक्रपथ क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ, जसले साउनका चारवटै सोमबार सेवा दिनेछ ।














