काठमाडौं ३ साउन । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले राजनीतिमा फर्कनु ‘जनताको बहुदलीय जनवाद’को मर्मविपरीत भएको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै डा भट्टरारीले जबजको रक्षाका निम्ति पार्टीमा फर्कन लागेको भण्डारीको भनाइ आफैँमा जबज विरोधी भएको बताएका हुन् ।
उनले यसले एमालेको मात्र नभइ समग्र कम्युनिस्ट आन्दोलनको अग्रगामी रूपान्तरणमा अन्योल र संशय बढाउने दावी गरेका छन् । पूर्वराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रको राजनीतिमा फर्कँदा माओवादी रूपान्तरणमा योगदान भन्दा नोक्सान गर्ने पनि उनले बताएका छन् ।
राष्ट्रपति र पूर्वराष्ट्रपतिको पार्टीमा औचारक आबद्धता र क्रियाशिलताले सम्बन्धित पार्टीभित्र बहस र विवाद सिर्जना हुन गणतन्त्रको स्वास्थ्य, मर्यादा र दिगोपनका लागि गम्भीर विषय रहेको उनको भनाइ छ।
उनले भनेका छन्, ‘यो मुद्दा अब सम्बन्धित पार्टी र तीभित्रका गुट–उपगुटहरूको लाभहानी र चासोको विषय मात्र नरहेर देशको राष्ट्रिय हित, लोकतान्त्रिक गणतन्त्रको मर्म, हाम्रो शासकीय प्रणालीको चरित्र र नेपालका ’कम्युनिष्ट’ पार्टीहरूको वैचारिक–राजनीतिक प्रतिबद्धतासंग समेत जोडिएको सार्वजनिक महत्वको विषय बन्न पुगेको छ ।














