काठमाडौं, ३२ असार । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको शपथ आज हुँदैछ ।
दिउँसो तीन बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । यसअघिका मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि हिजो राजीनामा दिएका थिए ।
लगत्तै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हिजै न्यौपानेलाई मन्त्री नियुक्त गरेका थिए ।
शपथसँगै आजै कार्यभार सम्हाल्ने मन्त्री न्यौपानेको तयारी छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित न्यौपाने पछि राष्ट्रियसभा सदस्य बनेकी थिइन् ।














