काठमाडौं, २८ असार । मधेश प्रदेशसभा बैठक पुनः स्थगित भएको छ ।
शनिबार बसेको प्रदेशसभा बैठकमा प्रतिपक्ष दलले विरोध गरेपछि छैटौं दिन पनि स्थगित भएको हो । बैठक सुरु भएपछि माओवादी नेता युवराज भट्टराईले आगामी आर्थिक वर्षको बजेटमा देखिएको त्रुटि सच्याउन बनाएको कार्यदल गठनमा असहमति जनाएर विरोध गरेका थिए ।
मुख्यमन्त्री सतीशकुमार सिंहले प्रतिबद्धता दिएअनुसार कार्यदल गठन नभएको उनको भनाइ छ । कार्यदलबाट मन्त्रीको नाम नहटाएसम्म अवरोध जारी राख्ने ६ वटा प्रतिपक्ष दलले बताउँदै आएका छन् भने सभामुख रामचन्द्र मण्डलले कार्यदलमा मन्त्रीको नाम आएको अभ्यास नयाँ आएको र सरकारलाई अल्पमतमा राखेर कार्यदल गठन हुने अभ्यास पनि नयाँ रहेको बताएका छन् ।
आर्थिक विधेयक पूरा हुन दिन र विनियोजन विधेयकमा आपत्ति भए त्यसमा विरोध जनाउन सभामुखले आग्रह गर्दै राजस्व तथा आय व्ययमाथि छलफल नगरी सिधै अर्थमन्त्री सुनिलकुमार यादवलाई जवाफ दिन समय दिएका थिए ।
रोष्ट्रम घेराउ गरेर बैठक सञ्चालन गर्न खोजेपछि पनि प्रतिपक्ष दलका सांसदले विरोध गरेका थिए ।














