महोत्तरी, २७ असार । हालैका दिनमा पूर्वाधार विकास कार्यालय, जलेश्वरसँग सम्बन्धित समाचारको प्रसारणपछि सामाजिक सञ्जालमा महोत्तरीका पत्रकारहरूसँग लक्षित गरी गरिएका आधारहीन टिप्पणी र आरोपले ठूलो ध्यान आकर्षित गरेको छ ।
यसमा पत्रकार महासंघ महोत्तरी सहित पाँच पत्रकार संगठनले संयुक्त रूपमा गम्भीर ध्यानाकर्षण गर्दै सार्वजनिक विज्ञप्ति जारी गरेका छन् ।
नेपाल पत्रकार महासंघ महोत्तरी, प्रेस युनियन नेपाल, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, र प्रेस मंच नेपाल महोत्तरीले आफ्नो विज्ञप्तिमा स्पष्ट पारेका छन् कि समाचार संकलन र प्रकाशनको प्रक्रिया, दृष्टिकोण र प्रस्तुती सधैं निष्पक्ष र प्रमाणमा आधारित हुने गर्दछ । उनीहरूले भनेका छन्, “जिल्लामा क्रियाशील पत्रकारहरूको व्यवसायिक निष्ठा र इमानदारीमाथि प्रश्न उठाउने कार्य समग्र पत्रकारिता पेशामाथि आक्रमण हो । विशेष गरी, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) मधेश प्रदेशकी अध्यक्ष उपासना तिवारीमाथि सामाजिक सञ्जालमा गरिएका निन्दनीय टिप्पणी र चरित्र हत्या गर्ने प्रयासलाई गम्भीर रूपमा लिइएको छ ।
विज्ञप्तिमा भनेका छन् कि सामाजिक सञ्जालमा व्यक्त हुने विचार र टिप्पणी तथ्यमा आधारित र मर्यादित हुनुपर्छ, जसले समाजमा सामाजिक सद्भाव कायम राख्नमा मद्दत पुर्याउँछ ।
पत्रकार महासंघ महोत्तरीका अध्यक्ष महेश कुमार दास, प्रेस युनियनका अध्यक्ष सन्तोष कुमार सिंह, प्रेस चौतारी नेपालका अध्यक्ष राम नारायण महतो, प्रेस सेन्टर नेपालका अध्यक्ष विशाल बस्नेत र प्रेस मंच नेपालका अध्यक्ष अरविन्द कुमार झा हस्ताक्षरित विज्ञप्तिमा भनेका छन्, “समाजमा सामाजिक सद्भाव कायम राख्न सबै जिम्मेवार हुनुपर्छ । पाँचै पत्रकार संगठनले सरोकारवाला निकायलाई यस्ता घटनामा समयमै संवेदनशील भइ आवश्यक पहल गर्न आग्रह गरेका छन् ।
साथै, आगामी दिनमा सामाजिक सञ्जालमा हुने निराधार आरोप र अविवेकी टिप्पणीले सामाजिक सद्भावमा खलल पुग्न सक्ने भएकाले सबैलाई सजग र सचेत रहन पनि अपिल गरेका छन् ।
















