काठमाडौँ, ११ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै देशमा राज्य आतंक र गुण्डाराज चलेको आरोप लगाएका छन्। उनले मुलुकको अवस्था सुधार्न आन्दोलनको तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा मनोनीत तीन केन्द्रीय सदस्यलाई शपथ गराउँदै ओलीले सरकार निरंकुशतातर्फ अघि बढेको आरोप लगाए। उनले नागरिकले स्वतन्त्र रूपमा बोल्न र आफ्नो अधिकार प्रयोग गर्न नपाउने अवस्था सिर्जना भएको दाबी गरे।
ओलीले देशको स्वतन्त्रता र स्वाधीनताको रक्षा गर्दै वर्तमान संकटबाट मुलुकलाई बाहिर निकाल्न आन्दोलन आवश्यक रहेको बताए। एमालेले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न पार्टी एकताबद्ध र अनुशासित भएर अघि बढ्नुपर्नेमा पनि उनले जोड दिए।














