काठमाडौं, २९ असोज । आमा र नवजात शिशुको स्वास्थ्य, सुरक्षा तथा नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नयाँ निर्देशिका जारी गरेको छ ।
मन्त्रालयले मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३ जारी गर्दै स्वास्थ्य संस्थामा सुत्केरी आमा र नवजात शिशुले पाउनुपर्ने सेवासम्बन्धी मापदण्डलाई थप व्यवस्थित बनाएको हो ।
यसअघि स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा अभियान निर्देशिका, २०७३ अनुसार सञ्चालन हुँदै आएको कार्यक्रमलाई थप प्रभावकारी बनाउन नयाँ निर्देशिका ल्याइएको मन्त्रालयले जनाएको छ ।
नयाँ व्यवस्थाले अस्पताल तथा स्वास्थ्य संस्थामा मातृशिशुमैत्री वातावरण निर्माण गर्नुका साथै आमा र नवजात शिशुको आवश्यकताअनुसार गुणस्तरीय सेवा उपलब्ध गराउन जोड दिएको छ ।
निर्देशिकाले सुत्केरी आमा र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने १०-१० वटा मापदण्ड निर्धारण गरेको छ । यसबाट प्रसवदेखि सुत्केरी अवस्थासम्म आमाको स्वास्थ्य र नवजात शिशुको सुरक्षालाई प्राथमिकता दिँदै सेवा प्रवाहमा एकरूपता ल्याउने अपेक्षा गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार प्रसवका क्रममा आमाले चाहेको परिवारको सदस्यलाई साथमा रहने सुविधा दिनुपर्नेछ । प्रसवको समयमा परिवारको साथ र भावनात्मक सहयोग उपलब्ध हुँदा आमालाई सहज हुने अपेक्षा गरिएको छ ।
त्यस्तै, बच्चा जन्मिएपछि नवजात शिशुलाई आमाबाट अनावश्यक रूपमा अलग नराखी आमासँगै राख्ने र सम्भव भएसम्म जन्मिएको छिट्टै स्तनपान सुरु गराउने व्यवस्थालाई प्राथमिकता दिइएको छ ।
यसले आमा र शिशुबीचको सम्बन्ध बलियो बनाउन तथा नवजात शिशुलाई स्तनपानको सुरुवाती लाभ उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ ।














