काठमाडौं, २९ असोज । बडादसैँअन्तर्गत नवरात्रको पाँचौँ दिन आज नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
आश्विन शुक्ल पञ्चमीका दिन मनाइने यस अवसरमा घरघरका पूजाकोठा तथा दशैँघरमा देवीको पूजा गरिन्छ। नवरात्रका क्रममा दुर्गा सप्तशती, चण्डी तथा देवीभागवतलगायत धार्मिक ग्रन्थ पाठ गर्ने परम्परा छ। देवीको आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेसँगै सुरु भएको दुर्गा पूजा नवमीसम्म चल्छ। नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाआराधना गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाएर नेपालीले बडादसैँ मनाउने परम्परा छ।














