काठमाडौं, २८ असोज । नेपाल कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झालाई लुम्बिनीको अन्तर्राष्ट्रिय प्रचारप्रसार र धार्मिक पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिन आग्रह गरेका छन्।
संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै पुनले श्रीलंकाबाट आउने बौद्ध पर्यटकलाई लुम्बिनी भ्रमणमा मात्र सीमित नराखी नेपालका अन्य धार्मिक तथा पर्यटकीय स्थलसम्म पुर्याउन कूटनीतिक पहल आवश्यक रहेको बताए।
उनले भारत हुँदै आउने पर्यटकले लुम्बिनी भ्रमण गरे पनि नेपालमा पर्याप्त समय नबिताउने प्रवृत्ति अन्त्य गर्न नेपाली दूतावासले प्रभावकारी समन्वय गर्नुपर्नेमा जोड दिए। साथै, बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै रहेको तथ्यलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नुपर्ने उनको भनाइ थियो।
प्रस्तावित राजदूत झाले सांसद पुनको सुझावप्रति प्रतिबद्धता जनाउँदै आफ्नो कार्ययोजना र प्राथमिकताबारे समितिमा धारणा राखेकी छन्।















