काठमाडौं, २७ असोज । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकाका बाढीपहिरो प्रभावित परिवारलाई २१ वटा अस्थायी आवास हस्तान्तरण गरेका छन्।
मंगलबार बेलकोटगढी नगरपालिका–७, महादेवथानमा आयोजित कार्यक्रममा प्रचण्डले प्रभावित परिवारलाई घरको चाबी हस्तान्तरण गरेका हुन्।
वाईसीएल नेपालको पहलमा निर्माण गरिएका आवासमा दुई कोठा र शौचालय छन्। एउटा आवास निर्माणमा करिब चार लाख रुपैयाँ खर्च भएको जनाइएको छ।
कार्यक्रममा प्रचण्डले भोटेकोशीमा आएको बाढीले पुर्याएको क्षति जलवायु परिवर्तन र विकासको गलत मोडेलसँग पनि जोडिएको बताए।
कार्बन उत्सर्जनमा नेपालको योगदान न्यून भए पनि जलवायु परिवर्तनको असर नेपालले भोग्नुपरेको उनको भनाइ थियो। घर प्राप्त गरेपछि प्रभावित परिवारले खुसी व्यक्त गर्दै कठिन समयमा सहयोग गरेकोमा वाईसीएललाई धन्यवाद दिएका छन्।
वाईसीएलले आवास निर्माणसँगै प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण, सरसफाइ र पुनःस्थापनाका कामसमेत गरेको जनाएको छ।
संगठनका अनुसार राहत तथा पुनःस्थापनाका काममा देशभर १० हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ।














