काठमाडौँ, २६ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीप्रति असन्तुष्टि जनाउँदै टाढिएका नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा समेट्नुपर्ने बताएका छन्।
पूर्व सहायकमन्त्री प्रकाशबहादुर गुरुङको १३औँ पुण्यतिथिमा कांग्रेस अन्नपूर्ण गाउँपालिका समितिले सोमबार आयोजना गरेको शोकसभालाई सम्बोधन गर्दै थापाले पार्टी निर्माणमा योगदान दिएका सबै कार्यकर्ताको सम्मान र उचित मूल्याङ्कन हुनुपर्ने बताए।
कांग्रेस ठूला तथा पहुँचवाला नेताहरूको मात्र नभई गाउँ–गाउँमा रहेर संगठन निर्माणमा खटिने सबै कार्यकर्ताको साझा पार्टी भएको उनको भनाइ थियो।
सभापति थापाले दिवङ्गत नेता गुरुङले पार्टी संगठन र समाजमा पुर्याएको योगदानको स्मरण गर्दै पुराना तथा निष्ठावान् नेताहरूको त्यागलाई सधैँ सम्मान गर्नुपर्ने धारणा राखे।














