जनकपुर, २३ असोज। जनता समाजवादी पार्टी नेपालका जनकपुर उपमहानगरपालिका समितिका नगर सचिव प्रशान्त झाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्।
मिति २०८३ असोज २३ गते पार्टी अध्यक्षलाई सम्बोधन गर्दै उनले आफ्नो राजनीतिक सोच, प्राथमिकता र आगामी यात्रालाई नयाँ ढंगले अघि बढाउने निर्णयसहित पार्टीबाट अलग हुने जानकारी गराएका हुन्।
झाले मधेशको अधिकार, पहिचान, समानता र सामाजिक न्यायका लागि भएको तेस्रो मधेश आन्दोलनबाट आफ्नो राजनीतिक यात्रा सुरु भएको बताएका छन्। आन्दोलनका क्रममा जनकपुरधाममा युवाहरूको नेतृत्व गर्दै सार्वजनिक तथा राजनीतिक जीवनमा सक्रिय भएको उनले उल्लेख गरेका छन्।
त्यसपछि तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालको भ्रातृ संगठन राष्ट्रिय युवा संघको धनुषा जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्दै राजनीतिक यात्रालाई निरन्तरता दिएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्। पछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा आबद्ध भएर जनकपुर उपमहानगरपालिका समितिको नगर सचिवको जिम्मेवारीसमेत निर्वाह गरेका थिए।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टी नेपालबीच एकीकरणपछि बनेको जनता समाजवादी पार्टी नेपालमा पनि आफूले लामो समयसम्म नगर सचिवको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेको झाको भनाइ छ।
उनले मधेश आन्दोलनबाट सुरु भएको आफ्नो राजनीतिक यात्रा एक दशकभन्दा लामो समयदेखि निरन्तर सक्रिय रहँदै आएको उल्लेख गर्दै यस अवधिमा पार्टी संगठन निर्माण, मधेशका मुद्दा तथा लोकतान्त्रिक र सामाजिक न्यायका सवालमा आफ्नो तर्फबाट योगदान गर्ने प्रयास गरेको बताएका छन्।
राजीनामा पत्रमा उनले आफ्नो राजनीतिक यात्रामा साथ, सहयोग र मार्गदर्शन गर्ने अग्रज, सहकर्मी, युवा साथी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्। साथै, पार्टीमा रहँदा नेतृत्वबाट प्राप्त सहयोगका लागि धन्यवादसमेत दिएका छन्।
आफ्नो राजनीतिक सोच, प्राथमिकता र आगामी यात्रालाई नयाँ ढंगले अघि बढाउनुपर्ने महसुस गरेपछि पार्टीको साधारण सदस्यसमेत नरहने गरी अलग हुने निर्णय लिएको उनले स्पष्ट पारेका छन्।














