काठमाडौं, २३ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म देशव्यापी ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने भएको छ।
शुक्रबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय संयोजन समितिको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए। अभियानको औपचारिक सुरुवात कात्तिक ७ गते पत्रकार सम्मेलनमार्फत गरिनेछ।
अभियानका क्रममा पार्टीको महाधिवेशन तयारी, सदस्यता नवीकरण, संगठन सुदृढीकरण तथा आगामी स्थानीय र प्रदेश निर्वाचनको पूर्वतयारीलाई प्राथमिकता दिइनेछ।
साथै, वर्तमान सरकारका जनविरोधी गतिविधि र अराजकताविरुद्ध जनदबाब सिर्जना गर्न आन्दोलनका कार्यक्रमसमेत सञ्चालन गरिने पार्टीले जनाएको छ।














