काठमाडौं, १६ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाई दुबईका पाइलट क्याप्टेन स्मित मच्छरसँग टेलिफोनमा कुराकानी गर्दै उनको साहस र सुझबुझको प्रशंसा गरेका छन्।
मोदीले गम्भीर घाइते अवस्थामा समेत यात्रुको सुरक्षालाई प्राथमिकता दिएको भन्दै स्मितप्रति देशलाई गर्व रहेको बताए। उनले स्मितको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भारतभर उनको स्वास्थ्यका लागि प्रार्थना भइरहेको जानकारी दिए।
क्याप्टेन स्मितले आफू घाइते भए पनि विमानभित्रको अवस्था बिग्रँदै गएको महसुस भएपछि ककपिटको ढोका खोल्न अन्तिम प्रयास गरेको बताए। उनले आफ्नो प्रयासमा अन्य व्यक्तिको समेत महत्वपूर्ण सहयोग रहेको उल्लेख गरे।
कुराकानीका क्रममा स्मितले पीडाका बेला हनुमान चालिसा पाठ गर्ने गरेको र भगवानकै कृपाले आफू बचेको विश्वास व्यक्त गरे। मोदीले स्मितको उपचारमा सहयोग गरेको साउदी अरब र यूएई सरकारलाई धन्यवाद दिँदै आवश्यक सहयोगका लागि आफू सम्पर्कमा रहने बताए। –बीबीसी हिन्दी














