काठमाडौं, १६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकार जेनजी आन्दोलनको भावना र जनअपेक्षाअनुसार अघि बढ्न नसकेको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले सरकारले प्रतिशोधको राजनीति त्यागेर सुशासन र रोजगारीका क्षेत्रमा ठोस नीति ल्याए राप्रपाले विनाशर्त सहयोग गर्ने बताए।
उनले आन्दोलनका क्रममा भएका हिंसा तथा तोडफोडका घटनामा संलग्नलाई कारबाही गर्न सरकार उदासीन भएको आरोप लगाए। साथै एनसेल, गिरीबन्धु टी–स्टेट, भुटानी शरणार्थी र चिनियाँ विमान खरिदसम्बन्धी प्रकरणको छानबिनबारे सरकारसँग जवाफ मागे।
युवाको विदेश पलायन रोक्न स्वदेशमै रोजगारीको वातावरण बनाउनुपर्नेमा जोड दिँदै शाहीले संविधान संशोधनमार्फत ‘एक पटकको नेपाली, सधैँको नेपाली’ अवधारणा अघि बढाउनसमेत माग गरे।














