काठमाडौं, १३ असोज । नेकपा एमालेका सांसद डा. पुष्पराज कँडेलले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम तथा खर्चको विवरण सार्वजनिक गर्न माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै कँडेलले विपद् व्यवस्थापनका लागि सरकारले परिचालन गरेको आर्थिक स्रोतको पारदर्शितामाथि प्रश्न उठाए। उनले कोषमा कति रकम जम्मा भयो र कुन–कुन क्षेत्रमा खर्च भयो भन्ने विवरण संसद्लाई जानकारी गराउनुपर्ने बताए।
स्थानीय तह, प्रदेश सरकार तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत खर्च भएको रकम र त्यसको प्रभावकारिताबारे समेत संसद्लाई स्पष्ट जानकारी दिनुपर्ने उनको माग छ। उनले विपद्का नाममा संकलित रकमको पारदर्शी लेखाजोखा हुनुपर्नेमा जोड दिए।














