काठमाडौं, ९ असोज। रसुवाको माथिल्लो त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङमा १० दिनसम्म फसेर जीवितै उद्धार गरिएका मेकानिकल सुपरभाइजर कबीर महर्जन अस्पतालबाट डिस्चार्ज भएका छन्।
स्वास्थ्यमा सुधार आएपछि शुक्रबार अस्पतालबाट बिदा भएका महर्जनलाई ललितपुरस्थित निवासमा स्थानीयले फूलमालासहित स्वागत गरेका छन्।
गत भदौ १० गतेको बाढीपछि सुरुङमा फसेका महर्जनलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले १० दिनपछि सकुशल उद्धार गरेको थियो। उद्धारपछि अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा क्रमशः सुधार आएको चिकित्सकहरूले बताएका छन्।














