काठमाडौँ, ३० भदौ । भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले गुठीसम्बन्धी नयाँ विधेयक छिट्टै संसदमा पेश गरिने बताएकी छन्।
मंगलबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले आवश्यक कानुनी प्रक्रिया पूरा गरी विधेयकलाई उच्च प्राथमिकताका साथ अघि बढाइने जानकारी दिइन्। विगतमा गुठी विधेयक फिर्ता भएको विषयलाई ध्यानमा राख्दै विज्ञ तथा सरोकारवालासँग छलफल भइरहेको उनको भनाइ छ।
मन्त्री रावलले गुठी जग्गा धर्म, संस्कृति, परम्परा र सम्पदा संरक्षणसँग जोडिएको संवेदनशील विषय भएकाले सबै पक्षको सुझाव समेटेर विधेयक ल्याइने बताइन्।
साथै, गुठी जग्गाका मोहीले प्रचलित कानुनअनुसार मोही हक प्राप्त गर्ने तथा घर–टहरा निर्माण गर्न सक्ने व्यवस्था रहेको स्पष्ट पारिन्।














