काठमाडौं, २८ भदौ । नेपाली कांग्रेसले १४औँ महाधिवेशनबाट निर्वाचित पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यलाई केन्द्रीय सदस्यकै हैसियत दिने निर्णय गरेको छ।
आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनमा सहभागी नभएका तत्कालीन केन्द्रीय समितिका सदस्यलाई विधानअनुसार केन्द्रीय सदस्यको हैसियत दिने व्यवस्था गर्ने निर्णय गरेको हो।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार यस निर्णयबाट १४औँ महाधिवेशनबाट निर्वाचित संस्थापनइतर पक्षका नेताहरू पनि केन्द्रीय सदस्यको हैसियतमा रहनेछन्।
बैठकले गत पुसमा क्रियाशील सदस्यता नवीकरण गरेका तर हालसम्म अद्यावधिक नगरेका सदस्यलाई पनि १५औँ महाधिवेशनमा सहभागी हुन दिने निर्णय गरेको छ।














