काठमाडौं, २६ भदौँ । स्वास्थ्य मन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर महिलाले बच्चा जन्माएको घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएकी छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री मेहताले घटनाको सत्यतथ्य छानबिन गरी दोषी देखिए कानुनअनुसार कारबाही गरिने बताइन्। उनका अनुसार मन्त्रालयले अस्पतालसँग २४ घण्टे स्पष्टीकरण मागिसकेको छ भने नेपाल मेडिकल काउन्सिल र मन्त्रालयका प्रतिनिधिसहित पाँच सदस्यीय टोलीले स्थलगत छानबिन गरिरहेको छ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले पनि छुट्टै छानबिन समिति गठन गरेको छ। घटनाका बेला ड्युटीमा रहेका कर्मचारीलाई कामकाजबाट हटाएर छानबिन अघि बढाइएको मन्त्रीले जानकारी दिइन्।
घटनापछि आमा र नवजात शिशुलाई अस्पतालमा ल्याएर उपचार तथा स्याहार भइरहेको र छानबिन प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही गरिने उनले स्पष्ट पारिन्।














