काठमाडौं, २६ भदौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गरी छानबिन गर्न सरकारसँग माग गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सुनारले कार्कीविरुद्ध संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायमा उजुरी परेको दाबी गरे। उनले यति धेरै उजुरी हुँदाहुँदै पनि सरकारले कार्कीमाथि छानबिन र कारबाही अघि नबढाएको भन्दै प्रश्न गरे।
प्रहरी कर्मचारीका जुत्ता-मोजालगायत सामग्री खरिदमा कार्की, उनकी श्रीमती र अन्य उच्च अधिकारीको संलग्नतामा भ्रष्टाचार भएको आरोपसमेत सुनारले लगाए। सामान्य आरोप लाग्दा तीन मन्त्री बर्खास्त भइसकेको उल्लेख गर्दै उनले आईजीपीमाथि कारबाही नहुनु आश्चर्यजनक भएको बताए।














