काठमाडौं, २६ भदौ। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक च्यासलस्थित पार्टी मुख्यालयमा जारी छ।
बैठकमा कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलले तयार गरेका दुई प्रतिवेदनमाथि छलफल हुने भएको छ।
पोखरेलले तयार गरेको ६५ पृष्ठको प्रतिवेदनप्रति अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि जनाएपछि बादललाई पुनर्लेखनको जिम्मेवारी दिइएको थियो। बादलले त्यसलाई सम्पादन गरी ३९ पृष्ठको नयाँ प्रतिवेदन तयार गरेका छन्।
बैठकमा दुवै प्रतिवेदन पेश हुने भए पनि पोखरेल पक्षले पुरानै प्रतिवेदनलाई आधार बनाउनुपर्ने धारणा राखेको छ। नेतृत्व परिवर्तनको विषयमा समेत मतभेद देखिएको छ। अध्यक्ष ओली भने आजको बैठकमा सहभागी छैनन्।














