काठमाडौँ, २३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेन–जी आन्दोलनले उठाएका प्रश्नको जवाफ दिने जिम्मेवारी अहिले आफूहरूसँग आएको बताएका छन्।
आन्दोलनको एक वर्ष पुगेको अवसरमा विज्ञप्ति जारी गर्दै उनले जेन–जी आन्दोलन कुनै दलको आह्वानमा नभई स्वतःस्फूर्त जागरण भएको बताए। उनले राजनीतिक दल वा नेताले आन्दोलनलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्न नहुने चेतावनी दिए।
लामिछानेले आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र घाइतेप्रति सम्मान व्यक्त गर्दै त्यस्तो घटना फेरि दोहोरिन नदिन आग्रह गरे। सरकारका कामको निरन्तर समीक्षा र रचनात्मक खबरदारी आवश्यक रहेको बताउँदै उनले नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा बदल्नुपर्नेमा जोड दिए।














