रुपन्देही, २२ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक प्राकृतिक विपत्तिसँगै राजनीतिक र आर्थिक संकटमा रहेको बताएका छन्। उनले जनताले अझै सुशासनको अनुभूति गर्न नसकेको दाबी गरे।
सोमबार भैरहवामा आयोजित पार्टीको कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा यादवले भ्रष्टाचार, कमिसनतन्त्र र दलालीमा कमी नआएको तथा कृषि, उद्योग र पर्यटन क्षेत्र कमजोर बन्दै गएको बताए। विगत ३४ वर्षमा ३० पटक सरकार परिवर्तन हुँदा पनि जनअपेक्षाअनुसार विकास र सुशासन कायम हुन नसकेको उनको भनाइ थियो।
यादवले गरिब जनतामाथि करको भार थप्नु अन्यायपूर्ण भएको भन्दै सरकारको आर्थिक नीतिको आलोचना गरे। पार्टीको निर्णय र अनुशासनविपरीत गतिविधि गर्ने जोसुकैलाई कारबाही गरिने पनि उनले बताए।
जसपा नेपालका उपाध्यक्ष तथा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले पनि देशको अवस्था चिन्ताजनक रहेको बताए। उनले जसपा अहिले संसद्मा नरहे पनि जनताको मुद्दा लिएर सडकमा सक्रिय रहेको बताए।














