काठमाडौँ , २२ भदौ । रसुवा बाढीपछि भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा रहेका जलविद्युत आयोजनाका सुरुङमा करिब १२१ जना फसेको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाका सहायक रथी सुवासजङ्ग थापाका अनुसार रसुवागढीमा ५, लाङटाङमा ७, चिलिमेमा ७, अपर त्रिशूली–१ मा करिब ५० र त्रिशूली–३ ए मा करिब ४२ जना सुरुङभित्र रहेको अनुमान छ।
उनले विभिन्न आयोजनासँग आबद्ध ९ सयभन्दा बढी व्यक्ति सम्पर्कविहीन भए पनि सबैजना सुरुङभित्र फसेका नभएको स्पष्ट पारे। सुरुङको पूर्ण ब्रेकथ्रु नभएसम्म वा सरकारले अन्य निर्णय नगरेसम्म खोजी तथा उद्धार कार्य जारी रहने सेनाले जनाएको छ।














