काठमाडौं, २१ भदौ। प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीको योगदानको उच्च कदर गरिने बताएका छन्।
सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने बताए। उनका अनुसार तीनवटै सुरक्षा निकायको संयुक्त प्रयासमा बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३९१ जनाको उद्धार गरिएको छ।
सुरक्षाकर्मीले उद्धारसँगै घाइतेलाई अस्पताल पुर्याउने, शव व्यवस्थापन, खोज तथा उद्धार, प्रभावितलाई राहत र महामारी नियन्त्रणका कामसमेत गरिरहेका छन्। कठिन भूगोल र प्रतिकूल मौसमका बाबजुद उनीहरू निरन्तर परिचालन भइरहेको प्रधानमन्त्री शाहले उल्लेख गरे।
उनका अनुसार बाढीका कारण नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका १२ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन्। आफ्ना सहकर्मी सम्पर्कविहीन हुँदाको पीडाबीच पनि सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिरहेको उनले बताए।
हाल प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९७५ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना परिचालन भएका छन्। सेनाले उद्धारसँगै सडक खुलाउने तथा बेलीब्रिज निर्माणको काम गरिरहेको छ भने प्रहरीले डग टिममार्फत खोज तथा उद्धार र सशस्त्र प्रहरीले गोताखोर, ड्रोन, डोरी तथा केनाइन टोली परिचालन गरेको छ।
प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनमा सहयोग गर्ने स्वदेश तथा विदेशका विज्ञ र सुरक्षाकर्मीका परिवारप्रति समेत आभार व्यक्त गरेका छन्।














