काठमाडौं, २० भदौ । भोटेकोशी बाढीपछि विभिन्न जिल्लामा फेला परेका १ हजार ३४४ शवमध्ये १ हजार ३० शव आवश्यक प्रक्रिया पूरा गरी सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गरिएको छ। प्रहरीले २२२ महिला, ३५५ पुरुष र ४५३ पहिचान नखुलेका शव व्यवस्थापन गरिएको जनाएको छ।
शव पहिचानका लागि मृतकका १ हजार २६० र आफन्तका १ हजार १२ डीएनए नमूना सङ्कलन गरिएको छ। प्रत्येक शवको संकेत नम्बर, फोटो, डीएनए नमूना, हुलिया, पोस्टमार्टम रिपोर्ट, जीपीएस लोकेसनलगायत विवरण अभिलेख गरिएको प्रहरीले जनाएको छ। भविष्यमा दाबी परे वैज्ञानिक तथा कानुनी प्रमाणका आधारमा पहिचान गरी परिवारलाई शव हस्तान्तरण गरिनेछ।
नेपाल प्रहरीले १ हजार २७० पहिचान नखुलेका शवको विवरण वेबसाइटमा राखेको छ। बाढीमा बेपत्ता ४ हजार ८८६ जनाको खोजी जारी छ भने खोज, उद्धार, राहत र शव व्यवस्थापनमा ७ हजार ९१२ प्रहरी परिचालन गरिएको छ।














