काठमाडौं, ३१ जेष्ठ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कर छुट दिएको देखाए पनि शिक्षा, स्वास्थ्य, विद्युत् लगायतका क्षेत्रमा थप शुल्क र कर लगाएर नागरिकबाट अझ बढी रकम असुल्ने व्यवस्था गरेको आरोप लगाएका छन् ।
ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित …सुवर्ण शमशेर इकोनोमिक श्रृङ्खलाÚ कार्यक्रममा बोल्दै थापाले व्यक्तिगत आयकरमा केही राहत दिइए पनि अन्य क्षेत्रमा थप करको भारले मध्यमवर्गीय परिवारको खर्च बढ्ने बताए।
उनले निजी विद्यालय, निजी अस्पताल तथा विद्युत् उपभोगमा लगाइएका शुल्क र कर फिर्ता लिन सरकारसँग माग गरे । थापाले शिक्षा र स्वास्थ्य सेवा अधिकांश नागरिकका लागि बाध्यता बनेको उल्लेख गर्दै यस्ता क्षेत्रमा थप कर लगाउनु जनतामाथिको अतिरिक्त बोझ भएको बताए।
साथै, बजेटलाई मध्यमवर्गमैत्री भनेर गरिएको प्रचार वास्तविकतासँग मेल नखाने उनको भनाइ थियो ।














