जनकपुर, २१ जेष्ठ । मधेश प्रदेशमा गरिएको पोषण परीक्षणमा १६ प्रतिशत बालबालिका कुपोषणको समस्याबाट प्रभावित रहेको तथ्य सार्वजनिक भएको छ ।
स्वास्थ्य निर्देशनालय मधेशले १३३ स्थानीय तहमा २ लाख ८३ हजार ३०८ बालबालिकाको परीक्षण गर्दा ३५ हजार ८८३ जना कुपोषित र ८ हजार ७७१ जना शीघ्र कुपोषित भेटिएका हुन् ।
तथ्यांकअनुसार मधेशमा कुपोषित तथा शीघ्र कुपोषित बालबालिकाको संख्या ४४ हजार ६५४ पुगेको छ, जुन कुल परीक्षण गरिएकामध्ये १५.७६ प्रतिशत हो।
विश्व स्वास्थ्य संगठन -डब्लुएचओ) को मापदण्डअनुसार यो अवस्था संकटपूर्ण मानिन्छ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरिबी, अशिक्षा, पोषणसम्बन्धी चेतनाको कमी, सरसफाइको अभाव र असन्तुलित खानपानका कारण कुपोषण समस्या जटिल बन्दै गएको बताएका छन् ।














