बुटवल, २० जेठ । लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेका चार मन्त्रीले राजीनामा दिएका छन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम सारुमगर तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले पद त्याग गरेका हुन् ।
कांग्रेससँगको सत्ता साझेदारी र सरकार पुनर्गठनको तयारीबीच एमालेले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको हो । एमाले स्रोतका अनुसार गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रूपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्री नयाँ मन्त्रीका रूपमा सिफारिस भएका छन् ।
कांग्रेसले सरकारको नेतृत्व परिवर्तनको माग गरिरहे पनि मुख्यमन्त्री आचार्यले बजेट प्रस्तुत गरेपछि मात्रै नेतृत्व हस्तान्तरण गर्ने अडान लिएका छन् ।














