काठमाडौं, १९ जेठ । राष्ट्रिय दलित पत्रकार संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा पत्रकारिता, सामाजिक न्याय, समावेशिता तथा सञ्चार क्षेत्रमार्फत उल्लेखनीय योगदान पुर्याउने एक दर्जनभन्दा बढी पत्रकार र विभिन्न क्षेत्रका व्यक्तित्वलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ।
समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान ‘राम शोभी सामाजिक राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ बाट सम्मानित हुनुभयो। नगद १० हजार रुपैयाँ राशिसहितको उक्त पुरस्कार दलित समुदायका मुद्दा, सामाजिक विभेद, समावेशिता र सामाजिक न्यायका विषयलाई पत्रकारितामार्फत निरन्तर उठाउँदै आएको योगदानको कदरस्वरूप प्रदान गरिएको हो।
यस्तै, चितवनको माडीस्थित स्वदेश एफएमकी स्टेशन म्यानेजर दिप्ती विश्वकर्मा ‘विक्रम परियार स्मृति पत्रकारिता पुरस्कार–२०८३’ बाट सम्मानित हुनुभयो। ग्रामीण तथा दुर्गम क्षेत्रका आवाजलाई सञ्चारमाध्यममार्फत प्रभावकारी रूपमा उठाएको योगदानका लागि उहाँलाई नगद १० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिएको हो।
त्यसैगरी, उत्सव रसाइली ‘देबब्रत पुरस्कार’ तथा विष्णु निष्ठुरी ‘राममाया च्यामे पुरस्कार’ बाट सम्मानित हुनुभयो। पीबी दियाली ले ‘पुतली आमा स्मृति पत्रकारिता पुरस्कार’ र कर्ण विक ले ‘दिलबहादुर रम्तेल स्मृति पुरस्कार’ प्राप्त गर्नुभयो।
समारोहमा जनक सापकोटा, विनोद परियार र रामप्रसाद आचार्य लाई ‘टी.आर. विश्वकर्मा स्मृति पुरस्कार’ अन्तर्गत जनही १५ हजार रुपैयाँसहित सम्मान गरिएको छ। साथै ‘चिरञ्जीवी घिमिरे, करण ताम्राकार तथा अम्बिका परियार–पर्शु सवरी पुरस्कार’ पनि जनही १५ हजार रुपैयाँसहित प्रदान गरिएको संघले जनाएको छ। यस्तै, कमला हेम्च्युरी, मोदनाथ प्रश्रित, पदम सुन्दास, ज्ञानेन्द्र महत र सुशीला श्रेष्ठ लाई विशेष सम्मान प्रदान गरिएको थियो भने चिन्ता परियार लाई ‘प्रकाश चित्रकार कुशल संगठन सम्मान’ प्रदान गरिएको छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दलित पत्रकारहरूको पेशागत सुरक्षा, क्षमता अभिवृद्धि, हक–अधिकार र समावेशी सञ्चार क्षेत्र निर्माणको आवश्यकता औँल्याइएको थियो।
वक्ताहरूले सञ्चार क्षेत्रमा दलित समुदायको प्रतिनिधित्व थप सुदृढ गर्दै सामाजिक न्याय र समावेशितालाई व्यवहारमै सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए।














