काठमाडौं, १९ जेठ । प्रधानमन्त्री बालेनले नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले राष्ट्रिय सभा बैठक लगातार दोस्रो दिन पनि अवरुद्ध गरेका छन् ।
विपक्षी दलहरूले प्रधानमन्त्रीको भनाइ राष्ट्रहितविपरीत रहेको भन्दै माफी माग्नुपर्ने अडान लिएका छन् । यही विषयमा विरोध जारी रहेपछि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन ।
बैठकमा बजेटमाथिको सामान्य छलफल तथा विभिन्न विधेयकसम्बन्धी कार्यसूची रहे पनि अवरोधका कारण कुनै पनि विषय अघि बढ्न सकेन । सभाध्यक्ष नारायण दाहालले बैठक स्थगित गर्दै अर्को बैठक भोलिका लागि तय गरेका छन् ।














