काठमाडौं, १७ जेष्ठ । प्रधानमन्त्री बालेन्द्र शाहले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने विषयमा सरकारले गम्भीरतापूर्वक अध्ययन गरिरहेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सांसद महावीर पुनले विदेशस्थित नेपाली दूतावासमार्फत मतदान गराउने वा प्रविधिमैत्री प्रणाली विकास गरेर मतदानको व्यवस्था गर्ने सम्बन्धमा उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले यस विषयमा सरकार आवश्यक छलफल र अध्ययनको प्रक्रियामा रहेको जानकारी दिए ।
प्रधानमन्त्री शाहले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकारलाई सहज, सुरक्षित र विश्वसनीय बनाउन विभिन्न विकल्पबारे अध्ययन गरिने बताए ।
उनले आगामी निर्वाचनहरूमा दूतावासमार्फत मतदान गर्ने व्यवस्था वा आधुनिक प्रविधिको प्रयोग गरेर मतदान गराउने विषयमा आवश्यक कानुनी, प्राविधिक र व्यवस्थापकीय पक्षको समीक्षा गरिने उल्लेख गरे ।
उनले विदेशमा रहेका नेपालीहरूको सहभागिता लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण पक्ष भएकाले यस विषयमा सरोकारवाला निकायसँग परामर्श गरी उपयुक्त विकल्प तय गरिने बताए ।
साथै, निर्वाचन व्यवस्थापन तथा विज्ञान–प्रविधिसम्बन्धी संरचनालाई थप व्यवस्थित बनाउँदै नागरिकमैत्री प्रणाली विकास गर्ने दिशामा सरकार अघि बढिरहेको उनको भनाइ थियो ।














