जनकपुर, ७ जेष्ठ । जनता समाजवादी पार्टी नेपालको मधेस प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन भएका छन् ।
बिहीबार बसेको तत्कालीन जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पक्षको संयुक्त बैठकले उनलाई दलको नेता बनाएको हो ।
दुवै दलबाट नेताका लागि दाबेदारी आउने चर्चा भए पनि बैठकमा कसैले दाबी नगरेपछि यादव सर्वसम्मत चयन भएका हुन् । जसपा नेपालका १८ र लोसपाका ८ सांसदसहित संयुक्त रूपमा २६ सदस्य पुगेपछि यो दल मधेस प्रदेशसभाको सबैभन्दा ठूलो शक्ति बनेको छ ।
यसअघि दलको नेताबारे सरोज यादव र जितेन्द्र सोनल बीच विवाद भएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादव ले विश्वासको मत लिन पाएका थिएनन् । अब विश्वासको मत लिने प्रक्रिया जेठ ८ गतेका लागि तय गरिएको छ ।














