काठमाडौं, २६ चैत । प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेको छ ।
प्रधानमन्त्रीको सचिवालय अनुसार मन्त्री साहका केही गतिविधिहरू मन्त्रालयको जिम्मेवारी र स्वार्थसँग बाझिने खालका देखिएका छन् । यसै कारण प्रधानमन्त्रीले उनलाई पदमुक्त गर्ने सम्भावना बढेको जनाए ।
साह विगतमा पनि विभिन्न विवादमा मुछिएका व्यक्ति हुन् । विशेष गरी वैदेशिक रोजगारीसँग सम्बन्धित कन्सल्टेन्सी क्षेत्रमा उनको संलग्नता रहेको आरोप लाग्दै आएको छ । हाल पनि उनीसँग सम्बन्धित केही शंकास्पद गतिविधिबारे जानकारी प्रधानमन्त्रीसम्म पुगेको छ ।
यस्तै, मन्त्री साहकी श्रीमती जुनु श्रेष्ठ स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा बैठकमा सहभागी भएको विषयले थप विवाद उत्पन्न गरेको छ । उनी यसअघि लगातार ११ पटक बैठकमा अनुपस्थित भएको कारण बोर्डबाट हटाइएको भए पनि पुनः बैठकमा सहभागी भएको देखिएका छन् ।
यी सबै घटनाक्रमका आधारमा मन्त्री साहको पदमा निरन्तरता रहने वा नरहनेबारे छिट्टै निर्णय हुने संकेत देखिएको छ ।














