जनकपुर, २१ असोज । दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै मधेश प्रदेश प्रहरीले आठवटै जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको छ।
प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालका अनुसार असोज २९ देखि कात्तिक ३० गतेसम्म ७ हजार २२९ प्रहरी परिचालन गरिनेछ। धनुषामा सबैभन्दा बढी १ हजार ५९९ प्रहरी खटाइनेछ।
सुरक्षा योजनाअन्तर्गत सीमा नाका, धार्मिक स्थल, बजार तथा राजमार्गमा निगरानी बढाइनेछ। क्यूआरटी, मोबाइल तथा पैदल गस्ती, ट्राफिक चेकिङ, यात्रु सहायता कक्ष र सादा पोसाकका प्रहरीसमेत परिचालन हुनेछन्।
चाडपर्वमा हुन सक्ने चोरी, तस्करी, सडक दुर्घटना, ट्राफिक जाम, जुवा–तास, लुटपाट, झैझगडा तथा भीडजन्य घटनालाई नियन्त्रण गर्न प्रहरीले विशेष निगरानी राख्ने जनाएको छ।














