काठमाडौं, २१ असोज । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विक प्रहरीमाथि हातपात गरी सरकारी काममा अवरोध गरेको आरोपमा पक्राउ परेका छन्।
अभद्र व्यवहारसम्बन्धी जाहेरी परेका आफ्ना भाइ वीरेन्द्र विकलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीसँग वडाध्यक्ष केशरमानले विवाद गर्दै गालीगलौज र धकेलाधकेल गरेको प्रहरीले जनाएको छ। सो क्रममा उनले भाइलाई प्रहरी नियन्त्रणबाट भगाउनुका साथै ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरी कपडा च्यातिदिएको आरोप छ।
वीरेन्द्रलाई खोज्ने क्रममा मंगलबार बिहान मुसिकोट नगरपालिका–१ स्थित कालिका मन्दिरनजिकै दुवै दाजुभाइलाई प्रहरीले फेला पारेको थियो। घटनापछि वडाध्यक्ष केशरमानलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रशासन कार्यालयले उनलाई राष्ट्रसेवकको काममा बाधा पुर्याएको कसुरमा अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको छ। उनी जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।
प्रहरी अभिलेखअनुसार वडाध्यक्ष केशरमानविरुद्ध यसअघि पनि अभद्र व्यवहार र ज्यान मार्ने उद्योगलगायतका मुद्दा दर्ता भएका थिए। ती मुद्दामा उनी धरौटीमा छुटेको प्रहरीले जनाएको छ।














