जनकपुर, २९ फागुन । रामानन्द चोक लाई नमुना चोकका रूपमा विकास गर्ने काम जारी रहेको छ ।
ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले चोकमा जेब्रा क्रसिङ र ट्राफिक डिभाइडर राख्ने लगायतका संरचना निर्माण गरिएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख सूर्य बहादुर शाही का अनुसार नमुना चोक बनाउने काम करिब ४० देखि ५० प्रतिशतसम्म मात्र सम्पन्न भएको छ ।
उनका अनुसार ट्राफिक डिभाइडर राखिएपछि चोकको स्वरूप अझ व्यवस्थित र आकर्षक देखिन थालेको छ । तर, सडक प्रयोग गर्ने धेरै नागरिकले जेब्रा क्रसिङ र ट्राफिक डिभाइडरको प्रयोग तथा अर्थ राम्रोसँग नबुझ्दा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको ट्राफिक प्रहरीको भनाइ छ ।
यसबारे जनचेतना आवश्यक रहेको उनले बताए । त्यस्तै छाडा चौपायाको समस्या पनि रामानन्द चोकको सौन्दर्य र ट्राफिक व्यवस्थापनका लागि चुनौती बन्न सक्ने देखिएको छ ।
ट्राफिक प्रहरीले नगरपालिकासँग पटक-पटक समन्वय गरे पनि समस्या समाधान प्रभावकारी रूपमा हुन नसकेको बताइएको छ । नगरपालिकाले काञ्जी हाउस सञ्चालनमा ल्याएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा सडक तथा चोकमा छाडा चौपाया जथाभावी देखिने गरेको शाहीले बताएका छन् ।
यदि छाडा चौपाया नियन्त्रणमा ल्याउन नसकिएमा नमुना चोकको सौन्दर्य र ट्राफिक व्यवस्थापनमा असर पर्ने बताएका छन ।












