काठमाडौं, २८ फागुन । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक परिणाम सार्वजनिक भएसँगै आफ्नो पार्टीले अपेक्षाअनुसार सिट हासिल गर्न नसकेको स्वीकार गरेका छन् ।
अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै निर्वाचन परिणामप्रति प्रतिक्रिया जनाएका हुन् । ओलीले लोकतान्त्रिक व्यवस्थामा जनताको फैसला नै अन्तिम हुने उल्लेख गर्दै निर्वाचनबाट प्राप्त जनादेशलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताएका छन् ।
उनले परिणाम अपेक्षाअनुसार नआए पनि एमालेको चुनाव चिन्ह ‘सूर्य’ मा मतदान गर्ने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् । निर्वाचनको कठिन प्रतिस्पर्धाबीच पनि पार्टीप्रति देखाइएको विश्वास र साथ आफ्नो लागि ठूलो शक्ति भएको उनले उल्लेख गरेका छन् ।
उनले जनताको सेवा गर्ने प्रतिबद्धता र राजनीतिक यात्रामा कुनै कमी नआउने स्पष्ट पार्दै आगामी दिनमा अझ सक्रिय रूपमा जनताको बीचमा रहने बताएका छन् ।
ओलीले लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै यसलाई राजनीतिक अनुभवका रूपमा लिने बताएका छन् । साथै, पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनताको विश्वास जित्ने गरी आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।












