काठमाडौं, २५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले उल्लेखनीय सफलता हासिल गरेपछि भएको उक्त संवादमा मोदीले दुवै नेतालाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।
टेलिफोन संवादका क्रममा मोदीले नेपालमा सम्पन्न निर्वाचनमा रास्वपाले प्राप्त गरेको विजयका लागि बधाई दिँदै आगामी दिनमा नयाँ सरकार गठन र स्थिर शासन सञ्चालनका लागि शुभकामना दिएको जनाएका छन् ।
उनले नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई अझ मजबुत बनाउँदै सहकार्य र पारस्परिक हितका क्षेत्रमा मिलेर काम गर्ने अपेक्षा व्यक्त गरेको बताइएको छ ।
रास्वपा नेताहरूले पनि संवादका क्रममा शुभकामनाका लागि धन्यवाद व्यक्त गर्दै नेपाल र भारतबीचको मित्रता, सहकार्य र पारस्परिक सम्मानमा आधारित सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजान आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले उल्लेखनीय सफलता हासिल गर्दै राष्ट्रिय राजनीतिमा प्रमुख शक्तिका रूपमा उदाएको छ ।












