काठमाडौं, २४ फागुन । प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक आज (आइतबार) सार्वजनिक सम्बोधन गर्ने भएकी छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला मन्त्रालयले सिंहदरबारमा बिहान १० बजे आयोजना गर्ने कार्यक्रममा कार्कीले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनपछि प्रधानमन्त्री कार्कीले पहिलोपटक सार्वजनिक मञ्चबाट बोल्न लागेकी हुन् । जेनजी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि भदौ २७ गते कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी थिइन् ।
उनको नेतृत्वमा सरकारले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेको छ र उनले अब नवनिर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएकी छन् ।












