जनकपुर, १३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिमाल, पहाड र तराईको नाममा देश विभाजन गर्ने राजनीति अब जनताले स्वीकार नगर्ने बताएका छन् ।
देश दौडाहाका क्रममा बुधबार जानकी मन्दिरमा पूजापाठपछि आयोजित सम्बोधनमा उनले अब सिंगो नेपालको कुरा मात्र हुने स्पष्ट पारे ।
लामिछानेले यसपटकको निर्वाचनमा सुशासन र भ्रष्टाचारविरुद्धसँगै विभेदविरुद्धको आवाजलाई पनि बलियो बनाइने बताए ।
जनकपुरको विकासका लागि जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने, राम–जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्ने र मन्दिरका अतिक्रमित जग्गा फुकुवा गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।














