कुलदिप साह(मधेशी)
जनकपुर, २६ पुस । युथ एसोसिएसन अफ नेपाल (यान) ले पर्यावरण अभियन्ता दिलिप महतोको छैठौं पुण्यतिथिको अवसरमा काठमाडौंको माइतीघर मण्डलामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।
अवैध नदी उत्खननविरुद्ध आवाज उठाउँदै ज्यान गुमाएका महतोको सम्झनामा आयोजित कार्यक्रममा सहभागीहरूले उनको योगदान र बलिदानको स्मरण गर्दै न्याय र सम्मानको माग दोहो¥याएका छन् ।
२०७६ साल पुस २५ गते अवैध खोला उत्खनन रोक्न गएका बेला ओमप्रकाश महतो (दिलिप) लाई टिपरले किचेर हत्या गरिएको थियो । यानले महतोको हत्यालाई योजनाबद्ध अपराध भन्दै विगत ६ वर्षदेखि उनलाई ‘पहिलो पर्यावरण सहिद’ घोषणा गर्न निरन्तर माग गर्दै आएको छ ।
यानका केन्द्रीय महासचिव दीपक यादवको नेतृत्वमा सम्पन्न कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा, मधेस लाइब्रेरीका संरक्षक आभाष गुरु, ब्लड फर नेपालका सरोज महतो, कुश्वाहा समाजका केन्द्रीय अध्यक्ष राकेश सिंह, साथै बिटु मिश्र, भोला भट्टराई, राज सिंघानिया लगायत दर्जनौं युवाहरूको उपस्थिति रहेको थियो ।
वक्ताहरूले पर्यावरण संरक्षणका लागि संघर्ष गर्ने अभियन्ताको सुरक्षामा राज्य गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए । दिलिप महतोकी बहिनी अध्यक्ष रहेको दिलिप महतो प्रतिष्ठानले पनि सोही अवसरमा कार्यक्रम आयोजना गरेपछि यान र प्रतिष्ठानले संयुक्त रूपमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेका हुन् ।
कार्यक्रममा सहभागीहरूले दिलिप महतोको बलिदान व्यर्थ जान नदिने र अवैध उत्खननविरुद्धको अभियानलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । 














