जनकपुर, २९ कात्तिक । जनकपुरमा आज पनि सातदलीय गठबन्धनमा रहेका विभिन्न दलहरूले सरकार गठनमा देखिएको गतिरोध र सभामुखको तर्फबाट उठाइएका विवादास्पद कदमविरुद्ध विरोध प्रदर्शन जारी राखेका छन् ।
प्रदेशसभाको अगाडि ठूलो संख्यामा सहभागी भएर उनीहरूले नाराबाजी गर्दै विरोध कार्यक्रम सञ्चालन गरेका हुन् । संसदमा सभामुख रामचन्द्र मण्डलविरुद्धको प्रस्ताव पेश गर्न सांसदहरू पुगेका बेला उत्पन्न तनाव झगडामा बदलिएको थियो ।
सो क्रममा केही सांसदबीच हातपातसमेत भएको बताइएको छ । त्यही घटनालाई औंलाउँदै सभामुख मण्डलले पाँच जना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेका थिए, जुन कदमलाई सातदलीय मोर्चाले ‘एकलौटी र दुराशयपूर्ण’ भनेको छ ।
सभामुखको उक्त निर्णय खारेज गर्नुपर्ने मागसहित सात दलीय मोर्चाले शनिबार जनकपुरमा ठूलो संख्यामा कार्यकर्ता उतारेर विरोध र ¥याली निकालेका छन् ।
सुरक्षा चुनौती बढ्न सक्ने भन्दै प्रदेश प्रहरी कार्यालयले आसपासका क्षेत्रका सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।














