काठमाडौं, २८ कात्तिक । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अधिकारीको रूपमा आफूलाई परिचय दिँदै गैरकानुनी रूपमा रकम असुलेको आरोपमा दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा धनुषा–मिथिला नगरपालिका–९ लालगढका ४१ वर्षीय रबीन कोइराला र धनकुटा–महालक्ष्मी नगरपालिका–७ का ३३ वर्षीय योगेन्द्र पौडेल रहेका छन् । उनीहरूले १६ कात्तिक राति करिब ९ बजे काठमाडौं कोटेश्वरस्थित एक होटलमा खाजा खाइरहेका दुई व्यक्तिलाई धम्क्याइ रकम असुलेको उजुरी परेको थियो ।
दुवैलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर आपराधिक लाभसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार उनीहरूले पीडितलाई सीआईबीको प्रहरी भएको भन्दै दबाब दिएर ई–सेवामार्फत जनही ५०–५० हजार रुपैयाँ ट्रान्सफर गराएका थिए ।
साथै, पीडितसँग भएको ६ हजार रुपैयाँ नगद पनि खोसेको बताइएको छ । पडतलका क्रममा उनीहरूकहाँबाट ११ थान पासपोर्ट, १३ थान विभिन्न प्रकारका परिचयपत्र, ४ थान सरकारी तथा निजी कार्यालयका छाप, ३ थान एटीएम कार्ड तथा ११ थान नगद रसिदका बिवरण बरामद गरिएको प्रहरीले बताए ।














