काठमाडौं, २५ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेश प्रदेश सरकारमा मन्त्री बनेकी कञ्चन बिच्छालाई पार्टी अनुशासन विपरीत कार्य गरेको आरोप लगाउँदै २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएका छन् ।
राप्रपाको केन्द्रीय अनुशासन समितिले बिच्छाले पार्टीको नीति, सिद्धान्त र हित विपरीत गैरजिम्मेवार र अनुशासनहीन कार्य गरेको भन्दै उनीसँग कारण देखाऊ आदेश जारी गरेको छ ।
समितिका सदस्य–सचिव भक्ति प्रसाद सिटौलाले पठाएको पत्रमा भनिएको छ,‘राप्रपाको विधान २०४८ (संशोधनसहित २०७८) को दफा ३० (ड) बमोजिम तपाईंलाई किन कारबाही वा सजाय नगर्ने भन्ने विषयमा प्रमाणसहित २४ घण्टाभित्र लिखित स्पष्टीकरण बुझाउन अनुरोध गर्दछु।’
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बिच्छालाई हिजो नै मधेश प्रदेश सरकारबाट फिर्ता हुन निर्देशन दिएका थिए । तर उनले त्यसका विपरीत एमाले नेतृत्वको सरकारमा सहभागी भएपछि पार्टीभित्र विवाद चर्किएको हो ।
मधेश प्रदेशमा रातारात एमाले नेतृत्वमा नयाँ सरकार गठन भएपछि सत्ता समिकरणसँगै राप्रपाभित्र असन्तोष बढेको बताइन्छ ।














