काठमाडौँ, २४ कात्तिक । करिब चार वर्षपछि नेतृ रामकुमारी झाँक्री र नेता कृष्णकुमार श्रेष्ठ (किसान) पुनः नेकपा (एमाले)मा फर्किएका छन् ।
उनीहरू २०७८ सालमा एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए । सोमबार काठमाडौँस्थित राष्ट्रिय सभागृहमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान’ कार्यक्रममार्फत उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे ।
उनीहरूसँगै गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमिल्सिना, राजाराम स्याङतान, ववि चाम्लिङ, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, केदार गौतम, सावित्री न्यौपाने, उत्तम श्रेष्ठ र केशव सापकोटा लगायतका नेताहरू पनि एमालेमा पुनः प्रवेश गरेका छन् ।
गत कात्तिक १९ गते एकीकृत समाजवादी, माओवादी र अन्य दलबीचको एकता प्रक्रिया सार्वजनिक भएपछि झाँक्री–श्रेष्ठ समूह पुनः एमालेमा फर्किएको हो ।














