काठमाडौं, १७ कार्तिक । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित आठ वाम दल÷समूहबीच एकता भएको छ ।
औपचारिक घोषणा कात्तिक २० गते हुने भएको छ । प्रचण्ड, माधवकुमार नेपाल, सुवास काफ्ले, महेन्द्रराय यादवलगायत नेताहरूले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
नयाँ दलको नाम अहिलेसम्म सार्वजनिक नभए पनि चुनाव चिह्नका रूपमा ‘पाँचकुने तारा’ रोजिएको छ । तर ‘तारा’ चिह्नको इतिहास हेर्दा यसले वामदलहरूलाई सफलता नदिएको पाइन्छ ।
बामदेव गौतमले २०५४ मा एमाले फुटाएर माले गठन गर्दा यही तारा चिह्न प्रयोग गरेका थिए, तर २०५६ को निर्वाचनमा कुनै उम्मेदवार जित्न सकेनन् ।
पछि जनमोर्चा, माले समाजवादी हुँदै सुवास काफ्ले नेतृत्वको जनसमाजवादी पार्टीले पनि यही चिह्न प्रयोग गरे पनि उल्लेखनीय सफलता पाएन ।
अब यही तारा चिह्नलाई प्रचण्ड र माधव नेपालले वाम एकताको प्रतीकका रूपमा पुनः प्रयोग गर्न लागेका छन् । इतिहास दोहोरिन्छ कि नयाँ अर्थमा लेखिन्छ, त्यसको उत्तर आउँदो चुनावले दिनेछ ।














